विराटनगर । सुनसरीको दुहवीबाट हराएकी एक नाबालिकालाई विराटनगरमा बन्धक बनाएर राखिएको अवस्थामा भोलिपल्ट फेला भेटिएको छ ।
बन्धक बनाएर राखेको ठाउँबाट प्रहरीले नाबालिकालाई बुधबार बिहान सकुशल उद्धार गरेको छ । बन्धक बनाएर राख्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । दुहवी नगरपालिका–१० डुम्राहाकी ६ वर्षीया नाबालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । मामाघरमा खेलिरहेका बेला बालिका बेपत्ता भएको जानकारी अभिभावकले इलाका प्रहरी कार्यालय दुहवीमा गराएका थिए ।
त्यसलगत्तै इन्सपेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले खोजी तीव्र पारेको थियो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवानले खेलिरहेको अवस्थामा नाबालिकालाई उठाएर अभिभावकको मञ्जुरी बिना नै लिएर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सञ्जयले अभिभावकको अनुमति नलिइकन दुहवीबाट नाबालिकालाई ल्याएर विराटनगर–१० स्थित आफन्तको डेरामा बन्धक बनाएर राखेको जानकारी भण्डारीले दिए । विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवान डेरा बस्छन् । डेरा बसेकै कोठामा बालिकालाई रातभर बन्धक बनाएर राखिएको प्रहरीले जनाएको छ ।
इप्रका दुहवी, जिल्ला प्रहरी कार्यालय मोरङ र प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त टोलीले बुधबार बिहान ६ बजेतिर बालिकालाई फेला पारेर सकुशल उद्धार गरेको डीएसपी भण्डारीको भनाइ छ । उनका अनुसार सञ्जयका आफन्त डेरा बसेकै कोठाबाट नाबालिकालाई उद्धार गरिएको हो ।
अभिभावक र आफन्त कोही कसैलाई पनि नसोधिकन नाबालिकालाई सञ्जयले लगेका थिए । नाबालिकाकी ठूलीआमा र सञ्जयबीच प्रेम सम्बन्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नाबालिकाकी ठूलीआमा वैदेशिक रोजगारीका लागि जानलाई काठमाडौंमा गएकी थिइन् । उनलाई विदेश जानबाट रोक्नका लागि ‘बार्गेनिङ’ गर्न सञ्जयले नाबालिकालाई लिएर गएको पाइएको प्रहरीको भनाइ छ ।
नाबालिकालाई लिएर गएपछि सञ्जयले पीडिताका मामालाई फोन गरेका थिए । ‘तेरो भान्जी मेरो कब्जामा छ । दिदीलाई घर बोलाउने भए फिर्ता ल्याइदिन्छु । होइन भने अरुलाई नै दिन्छु’ भनेर सञ्जयले नाबालिकाको मामालाई फोन गरेको प्रहरीले जनाएको छ । नाबालिकाकी ठूलीआमालाई विदेश जान नदिने र आफूसँगै राख्ने योजना बनाएर सञ्जयले नाबालिकालाई आफ्नो कब्जामा लिएको प्रहरीको भनाइ छ ।
प्रहरीले नाबालिकाको उद्धार गर्नुका साथै उनलाई कब्जामा लिने सञ्जयसहित उनका आफन्तहरु कलानन्द र सरितालाई पक्राउ गरेको छ । पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीको तयारी छ । उनीहरुविरुद्ध अदालतबाट बुधबार ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी भण्डारीले बताए । इलाका प्रहरी कार्यालय दुहवीका इन्सपेक्टर मोहन पोखरेल नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)