धरानमा खानेपानी सेवाशुल्क बढेपछि मेयरविरुद्ध आन्दोलनमा दश राजनीतिक दल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धरान उपमहानगरपालिकाको खानेपानी बोर्डले खानेपानी जडान शुल्क र महसुल अत्याधिक वृद्धि गरेको छ । पालिका प्रमुख अध्यक्ष रहेको धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागुहुनेगरि खानेपानी महशुल र शुल्क वृद्धि गरेको हो ।

खानेपानी महशुल वृद्धि गर्दा धरानमा छलफल भएको थिएन । मेयर हर्क साम्पाङले एकलौटी रुपमा महशुल वृद्धि गरेपछि जनप्रतिनिधिस र राजनीतिक दल असन्तुष्ट बनेका छन् । धरानमा क्रियाशिल १० राजनीतिक दलहरूले बोर्डको नयाँ नियम विरुद्ध बिहीबारबाट चरणबद्ध आन्दोलन घोषणा गरेका छन् ।

बिहीबार महशुल घटाउनका लागि सरोकारवालासँग छलफल गर्ने घोषणा गरेका ठूला तीन सहित १० दलले १८ गते सबै वडाहरुमा ध्यानाकर्षण पत्र बुझाउने र २० साउनबाट धर्ना सुरु गर्ने बताएका छन् ।

दलहरुले ११ साउनमा पुरानै महशुल कायम गर्न भन्दै बोर्डलाई ७२ घण्टे अल्टिमेटम दिएका थिए । बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरेको कांग्रेस नगरसभापति श्याम पोखरेलले जानकारी दिए ।

शुल्क वृद्धिको विरोधमा धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रबिक्रम बेघासहित जनप्रतिनिधि छन् । उपप्रमुख बेघाले बोर्डको शुल्कका अस्वभाविक वृद्धि भएको बताए । ‘खानेपानी बोर्डको अध्यक्ष नगरप्रमुख हुनुहुन्छ, यो विषयलाई उहाँलाई एकल अधिकार छ निर्णय गर्ने, बोर्ड सञ्चालन गर्ने,’ उनले भने,‘ जनप्रतिनिधिले चासो राख्नुपर्ने संस्था हो, तर नगरप्रमुखको नेतृत्वमा रहेको बोर्डले सबै निर्णय गर्छ, पालिकामा यसबारे निर्णय हुँदैन ।’ शुल्क वृद्धि भएपछि नगरप्रमुखलाई फिर्ता गर्न आग्रह गरेको उनले बताए । ‘किन बढाउनु भएको मेयरसाब भन्दा बढाउनुपर्ने पर्ने भयो भन्नुहुन्छ,’ उनले भने ।

 कति बढ्याे शुल्क ?

खानेपानी बोर्डले जारी गरेको नयाँ शुल्क सूची अनुसार सबै शीर्षकको शुल्क वृद्धि भएको छ । छुट्टै जलाधार संरक्षण शुल्क पनि थपिएको छ । खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा चेकमा महशुल वृद्धि भएको छ ।

साउन १ बाट नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजार रुपैयाँसम्म शुल्क बढेको छ । १/२ इन्चको पाइप जडानमा यसअघि १५ हजार रुपैयाँ शुल्क थियो । साउन १ गतेबाट २० हजार पुगेको छ ।

४/३ इन्चको पाइपको शुल्क १० हजारबाट बढेर २५ हजार रुपैयाँ पुगेको छ । १ इन्चको पाइपको १५ हजार रुपैयाँ थियो । तर बोर्डले बढाएर ५० हजार रुपैयाँ पुर्याएको छ । १–१/२ इन्च पाइपको धारा जडान शुल्क २० हजार रुपैयाँ थियो । बोर्डले ५५ हजार रुपैयाँ बढाएर ७५ हजार रुपैयाँ तोकेको छ । त्यस्तै २ इन्चको पाइप जडान शुल्क एक लाख रुपैयाँ पुगेको छ । यसअघि २५ हजार रुपैयाँ थियो ।

होल चेन्जको दस्तुर दर पनि बृद्धि भएको छ । १/२ को पाइपको होल चेन्ज दस्तुर २ हजार रुपैयाँ थियो । बोर्डले बढाएर ५ हजार रुपैयाँ बनाएको छ । ४/३ को पाइपको होल चेन्ज शुल्क ३ हजारबाट बढाएर ८ हजार बनाइएको छ । १ इन्चको पाइपमा होल चेन्ज शुल्क ४ हजारबाट बढाएर १० हजार, १–१/२ इन्चको पाइपको होलचेन्ज शुल्क ५ हजारबाट बढाएर १५ हजार र २ इन्चको होलचेन्ज शुल्क ६ हजारबाट बढाएर २० हजार रुपैयाँ पुर्‍याइएको छ ।

बोर्डले नामसारी शुल्क पनि बढाएको छ । १/२ इन्चको मृतकबाट २०० र स्वामित्वका लागि २००० रुपैयाँ थियो । यसलाई बढाएर ५ हजार बनाइएको छ ।

नामसारीमा ४/३ इन्चमा ७ हजार ८००, १ इन्चमा ९ हजार ८००, १–१/२ इन्चको धारा नामसारीमा १४ हजार ८०० र २ इन्चको नामसारीमा १९ हजार ८ सय सम्म वृद्धि गरिएको छ । यसअघि सबै इन्चको नामसारी शुल्क मृतकबाट २०० र स्वामित्वबाट २००० रुपैयाँ थियो ।

पालिकाले मर्मत तथा धारा चेकको शुल्क पनि बढाएको छ । यसअघि सबै इन्चको धारा जडानको मर्मत तथा चेक शुल्क ५०० रुपैयाँ थियो । यसलाई बढाएर १० हजारसम्म पुर्याइको छ । २ इन्च पाइप जडान भएको स्थानमा मर्मत तथा चेकशुल्क १० हजार पुगेको छ । १/२ को १०००, ४/३ को २०००, १ इन्च र १–१/२ को मर्मत शुल्क पाँच हजार बनाइएको छ । जडान भएको इन्चका आधारमा महशुल पनि २० रुपैयाँदेखि ८०००सम्म बढेको दलहरुले दाबी गरेका छन् ।

तत्कालिन धरानको कार्यबहाक मेयर मन्जु भण्डारीले खानेपानीको महशुल वृद्धि गरेपछि शुल्क घटाउन नागरिक समाजको तर्फबाट हर्क साम्पाङले आन्दोलन गरेका थिए । त्यसबेला उनी अभियान्ता थिए ।

खानेपानीको शुल्क वृद्धिको विवादको असर तत्कालिन उपनिर्वाचनमा पर्याे । बलिको दल नेकपाका उम्मेदवारलाई पराजित गर्दै धरानको मेयरमा कांग्रेसबाट तिलक राई निर्वाचित भए ।

निर्वाचित भएपछि उनले महशुलमा १५ रुपैयाँ घटाएको कांग्रेस धरान नगरसमिति सभापति श्याम भण्डारी बताउँछन् । उनका अनुसार २०७७ मा धरानको खानेपानी संस्थान र खानेपानी बोर्ड मर्ज भएर खानेपानी व्यवस्थापन बोर्ड गठन भएको थियो । मर्ज भएपछि केही शीर्षकको बढेको थियो । ‘हिजो शुल्क घटाउनुपर्छ, धरानलाई निशुल्क पानी खुवाउनुपर्छ भन्ने मान्छे नेतृत्वमा पुगेपछि अस्वभाविक रुपमा महशुल वृद्धि गरे,’ पोखरेलले भने,‘ बढाउने हुँदा समिति गठन गरेर अध्ययनपछि बढाएको भए हुन्थ्यो, अव्यवहारिक रुपमा वृद्धि भएको शुल्क नघटेसम्म आन्दोलन गर्छाैं ।’

प्रकाशित मिति: बुधबार, १६ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.