विराटनगर । मोरङको उर्लाबारीमा एक युवकको हत्या आरोपी केही महिनाअघि मात्रै कारागारबाट छुटेको खुलेको छ । मंगलबार राति उर्लाबारी नगरपालिका– ५ मा २१ वर्षीय कुशल दाहालको छुरा प्रहार गरी हत्या भएको थियो । दाहाल उर्लाबारी ४ का बासिन्दा हुन् ।
उनीमाथि उर्लाबारी– ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास तामाङको घरमा छुरा प्रहार भएको थियो। प्रहरीका अनुसार तामाङले नै दाहाललाई छुरा प्रहार गरेका हुन्। छुरा प्रहारपछि उनी फरार छन् ।
मंगलबार बेलुका छुरा प्रहारबाट गम्भीर घाइते दाहाललाई उर्लाबारीको गोदाबारी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि लाइफलाईन अस्पताल दमक पठाइएको थियो । लाइफलाइनबाट उनलाई बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा राति ९ बजे उनको मृत्यु भएको थियो ।
मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा तामाङले नै छुरा प्रहार गरेको देखिएको छ । उनका अनुसार अपराधिक पृष्टभूमिका तामाङले २०७१ सालमा साथीको ढुंगाले हानेर हत्या गरेका थिए । उर्लाबारी २ का नवीन राईको हत्यामा संलग्न भएको देखिएपछि तामाङ १० वर्ष कैद सजाय भुक्तान गरेर करिब तीन महिना अघि मात्रै छुटेका थिए ।
मंगलबार बेलुका साढे ६ बजे आफ्नै घरमा आएका दाहालमाथि छुरा प्रहार गरेका तामाङले ८ असोज २०७१ राति घर नजिकै बाटोमा राईलाई ढुंगाले हानेर हत्या गरेका थिए ।
तामाङले राईको हत्या गर्दा मोरङका प्रहरी उपरीक्षक कार्की इलाका प्रहरी कार्यालय उर्लाबारीको इञ्चार्ज (प्रहरी निरीक्षक) थिए । कार्कीले नै गरेको अनुसन्धानका आधारमा तामाङमाथि कर्तव्य ज्यान मुद्दा चलेको थियो । ‘त्यसबेला मैले नै अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दा चलाएको थिए, कैद भुक्तान गरी ३–४ महिना अघि मात्रै छुटेको रहेछ,’ प्रहरी उपरीक्षक कार्कीले भने,‘ यो घटनापछि उनी फरार छन्, खोजी जारी छ ।’
तामाङ घरमा एक्लै बस्दै आएका थिए । मंगलबार दाहालसँगै अन्य युवकपनि उनको घरमा पुगेका थिए । सामान्य विवादमा छुरा प्रहार भएको प्रहरीले बताएको छ । प्रहरीले दाहालसँगै तामाङको घरमा गएका युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,668)
जीवन विकासले बोलायो साधारणसभा (2,617)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,578)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,571)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,435)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,355)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,284)