प्रदेश बनेपछि कोशीमा ५१२ किलोमिटर सडक कालोपत्रे, ३९३ मेगावाट विद्युत उत्पादन

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले पाँच वर्षमा ५१२ किलोमिटर पक्की सडक निर्माण गरेको छ ।

प्रदेश योजना आयोगका अनुसार प्रदेश सरकार गठन भएप्रश्चात आर्थिक वर्ष २०७९–८० को अवधिमा प्रदेशले ५१२.६४ किलोमिटर सडक कालोपत्रे गरेको हो । सोही अवधिमा १८१८. २८ किलोमिटर ग्राभेल सडक र ५९४५.२६ किलोमिटर कच्ची सडक निर्माण भएको छ ।  २०८०–८१ सम्म सरकारले पाँच हजार किलोमिटर सडक स्तरोन्नति गर्दै बाह्रै महिना सवारी कुदाउन मिल्ने बनाउने लक्ष्य लिएको थियो ।

प्रदेशको योजना तर्जुमाको आधार वर्ष (२०७६–७७)मा प्रदेशको रणनीतिक सडक २३८९.०८ किलोमिटर, प्रदेशमा ग्रामीण सडक ६१२१.६४ किलोमटर थियो । ति सडक सञ्जाल मध्ये १५४४.६६ किलोमिटर कालोपत्रे सडक थियो । प्रदेश सरकारले ५१२.६४ किलोमिटर पक्की सडक थप गरेको हो ।

प्रदेश सरकारले यो पाँच वर्षको अवधिमा ७६ वटा मोटरेवल पुल, १३८ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । २०७६–७७ सम्म प्रदेशमा १७१५ वटा झोलुङ्गे पुल थियो ।

प्रदेशले सन् २०३० सम्म १३७ वटा स्थानीय तहलाई जोड्ने गरी सात हजार किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

सबै पालिका केन्द्र र हरेक पर्यटकीय क्षेत्रमा बाह्रै महिना सवारी कुद्नेगरी पूर्वाधार बनाउने सरकारको लक्ष्य छ । पूर्व पश्चिम राजमार्गको १३ प्रतिशत, मध्य पहाडी राजमार्गको ३५.५ प्रतिशत, हुलाकी राजमार्गको १२.१ प्रतिशत र मदन भण्डारी राजमार्गको १३.२ प्रतिशत हिस्सा कोशी प्रदेशमा पर्छ ।

अधिकांश लक्ष्य भेटिएन   

प्रदेश योजना आयोगले तयार पारेको योजना समीक्षा प्रतिवेदनमा पहिलो पञ्चवर्षीय योजनाको चौथो वर्षसम्म आइपुग्दा अधिकांश लक्ष्य पुरा नहुने देखिएको छ । केही लक्ष्य पुरा भएको र केही पुरा हुने क्रममा रहेको प्रतिवेदनमा उल्लेख छ ।

योजना आयोगका अनुसार प्रदेशमा ५१४.२ मेगावाट विद्युत उत्पादन हुन्छ । यो उत्पादनमा प्रदेशमा रहेका ४२ वटा जलविद्युत आयोजनाहरूबाट उत्पादन भइरहेको छ । २०७६–७७ मा प्रदेशमा ११ वटा आयोजनाबाट १२१ मेगावाट विद्युत उत्पादन भइरहेको थियो । चार वर्षमा ३९३.२ मेगावाट विद्युत उत्पादन थप भएको हो ।  नेपालको जलस्रोतको २८ प्रतिशत क्षेत्र ओगटेको कोशी प्रदेशबाट आर्थिक वर्ष २०८०–८१ सम्म २५०० मेगावाट उत्पादन गर्ने लक्ष्य थियो ।

पछिल्लो चार वर्षमा ५१ हजार हेक्टरमा सिँचाइको सुविधा थप भएको छ । ५१ हजार हेक्टर थप हुँदा प्रदेशमा सिँचाइ पुगेको जमिन ३ लाख २७ हजार पुगेको छ । सरकारको लक्ष्य ३ लाख ४५ हजार हेक्टरमा पुर्याउने थियो ।

प्रदेशको कूल गार्हस्थ उत्पादनको लक्ष्य भने एक वर्ष अघि नै पार भएको छ । प्रदेशले पाँच वर्षमा प्रदेशको कुल गार्हस्थ उत्पादन ८ खर्ब ३ अर्ब ५६ करोड पुर्याउने लक्ष्य थियो । तर चौथो आर्थिक वर्षमा नै लक्ष्य भन्दा माथि ८ खर्ब ४९ अर्ब ६५ करोड पुगेको  छ ।

प्रदेशको कुल गार्हस्थ उत्पादन वृद्धिमा ठूलो हिस्सा सेवा क्षेत्रको छ । उद्योग र कृषि क्षेत्रको लक्ष्य भने घट्दो छ । गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदानलाई २३.६१ प्रतिशत बनाउने लक्ष्य थियो । तर आधार वर्ष २०७६–०७७  भन्दा योगदान घटेको छ । आधार वर्षमा उद्योग क्षेत्रको योगदान १९.०६ प्रतिशत थियो, गत आर्थिक वर्षसम्म उद्योग क्षेत्रको योगदान घटेर १६.८ प्रतिशतमा झरेको छ । कृषिको योगदान दर पनि ३६.७५ बाट घटेर ३३.६ पुगेको छ ।

कोशी प्रदेशको गार्हस्थ उत्पादन वृद्धि हुँदा राष्ट्रिय अर्थतन्त्रमा कोशी प्रदेशको योगदान १५.७९ प्रतिशत पुगेको प्रतिवेदनमा छ । यो बागमती प्रदेशपछिको ठूलो योगदान हो । राष्ट्रिय कृषि उत्पादनमा कोशी प्रदेशको योगदान २२ प्रतिशत छ । यो अन्य ६ वटा प्रदेशको भन्दा बढी हो । उत्पादनमूलक उद्योगको क्षेत्रमा कोशी प्रदेशको योगदान २१.९ प्रतिशत छ । जुन बागमती प्रदेशपछिको दोस्रो ठूलो हिस्सा रहेको योजना आयोगको प्रतिवेदनमा छ ।

योजना आयोगले पाँच वर्षका लागि राखेको २३ वटा परिमाणात्मक लक्ष्य मध्ये आर्थिकतर्फका ६ वटा लक्ष्य मध्ये १ वटा प्राप्त भएको छ ।  सामाजिकतर्फका १० वटा लक्ष्य मध्ये १ वटा प्राप्त भएको छ । भौतिकतर्फका ४ वटा लक्ष्य मध्ये १ वटा प्राप्त गर्न सकिने अवस्थामा छ । शासकीय सुधारतर्फका ३ वटा लक्ष्यहरू राखेकोमा तीन वटै प्राप्त गरेको छैन ।

प्रकाशित मिति: मङ्गलबार, १५ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.