विराटनगर । कोशी प्रदेशको सत्ता सहकार्यका लागि नेकपा एमाले र नेपाली कांग्रेसले काठमाडौँमा सहमति गरेका छन् । शनिबार काठमाडौँमा दुई दलको बैठकले मन्त्रालय र संसदीय समितिको भागबन्डा टुङ्गो लगाएको हो । प्रदेशको सरकारको सहकार्यका लागि दुई दलका नेता शुक्रबार नै काठमाडौँ पुगेका थिए ।
नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार एमालेले मुख्यमन्त्रीसहित पाँच र कांग्रेसले ४ वटा मन्त्रालय लिने सहमति भएको छ । मन्त्रालय भागबन्डा टुङ्गो लागेपछि सोमबार सरकार विस्तार गर्ने सहमति पनि भएको उनले बताए । ‘मोटामोटी सबै कुरामा छलफल भएर एकखालको सहमति भएको छ,’उनले भने,‘ कांग्रेस सोमबार सरकारमा सहभागी हुनेछ तयारी छ ।’
दुई दलको छलफलमा नेपाली कांग्रेसले सरकारको नेतृत्व पनि आलोपालो गर्नुपर्ने प्रस्ताव गरेको थियो । कांग्रेसको प्रस्तावमा छलफल भएपनि सहमति भएन । आलोपालोको विषयमा केन्द्रको सहमति अनुसार अघि बढ्ने समझदारी बनेको छ ।
‘आलोपालोको विषय केन्द्रीय नेतृत्वको निर्णय अनुसार अघि बढ्ने सहमति छ,’ भण्डारीले भने,‘ बाँकी विषय विराटनगरमा छलफलपछि टुङ्गो लाग्छ ।’ भागबन्डाका लागि काठमाडौँमा भएको सहमति भने संयोग मात्रै रहेको उनी बताउँछन् । ‘ नेताहरु यतै आएको बेला सहमति भयो,’ उनले भने ।
कोशी प्रदेश सरकारमा माओवादी केन्द्रले सरकार छाडेपछि मुख्यमन्त्री कार्कीले आफू मातहत राखेको भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, पर्यटन वन तथा वातावरण मन्त्रालय कांग्रेसले पाउनेछ । त्यस्तै मुख्यमन्त्रीले आफूसँग राखेको उद्योग कृषि तथा सहकारी मन्त्रालय र एमालेका मन्त्री रहेको सामाजिक विकास मन्त्रालय मध्ये थप एउटा लिन प्रस्ताव गरेका छन् ।
कांग्रेसले भने खानेपानी सिँचाइ तथा उर्जा मन्त्रालयमा दाबी गरेको थियो । सो मन्त्रालय एमालेले नछाड्ने भएपछि माओवादी केन्द्रले छाडेका तीन मन्त्रालय र कृषि तथा सामाजिक मध्ये एउटा मन्त्रालय लिनेछ । दुई दलबीच संसदीय समिति भागबन्डामा पनि सहमति जुटेको छ । प्रदेशमा सात वटा विषयगत समिति छन् । ति समिति पनि एउटा प्रतिपक्षी दललाई छाडेर बाँकी आधाआधा गर्ने दुई दलको सहमति छ ।
सहमति कार्यान्वयन भए माओवादी केन्द्रले सार्वजनिक लेखा समिति पाउनेछ । सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने परम्परा छ । अन्य ६ वटा समिति दुई दलले बाँड्नेछन् । संसदीय समितिको विषयमा छलफल भएपनि सहमति भइनसकेको भण्डारीले बताए । ‘संसदीय समितिका विषयमा छलफल भयो, सहमतिको नजिक छौं,’उनले भने,‘ सरकार बिस्तारपछि यो विषय पनि टुङ्गो लाग्छ ।’
छलफलमा सहभागि एक नेताका अनुसार ७ मध्ये दुई वटा समिति प्रतिपक्षी दललाई दिएर पाँच वटा समितिको नेतृत्व कांग्रेस एमालेले भागबन्डा गर्ने विषयमा पनि छलफल भएको थियो । तर नेता व्यवस्थापन गर्नुपर्ने दबाब भएका कारण सार्वजनिक लेखा समिति बाहेक अन्य समिति आधाआधा गर्ने निष्कर्ष दुई दलको छ ।
१७ असारमा केन्द्रमा कांग्रेस एमालेबीच नयाँ समीकरण बनेपनि कोशी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको थिएन । शुक्रबार मुख्यमन्त्रीलाई दिएको समर्थन कायम नै राखेर माओवादी केन्द्रले सरकार छाडेपछि कांग्रेस र एमालेले सहकार्यको सहमति गरेका हुन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,360)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,149)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,113)