विदेशबाट फर्किएपछि बुंगुरपालन र फलफूलखेतीमा व्यस्त सुगम

Satya Sanchar रासस

भोजपुर । भोजपुर पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा छिदुवाका २७ वर्षीय सुगम राईले सात वर्ष विदेशमा बिताए । स्वदेश फर्किएपछि भने उनी बुंगुरपालन र फलफूलखेतीमा व्यस्त छन् । आम्दानी पनि राम्रो गरिरहेका छन् ।

राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बुंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन् । बुंगुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बुंगुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए । राईको फार्ममा अहिले ४१ वटा बुंगुर छन् ।

भविष्यमा बुंगुरपालन तथा फलफूलखेतीबाट वार्षिक ५० देखि ६० लाख रुपैयाँसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको राईले बताए । विदेशमा सात वर्ष बिताएर फर्किएका उनले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको सुनाए । ‘वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी हुन्छ’, उनले भने ।

स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने राई बताउँछन् । आफ्नो फार्ममा उत्पादन भएका बुंगुर खरिद गर्न ठेकेदार घरमा आउने उनले सुनाए । उनले फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बुंगुरलगायत पालन गरिरहेका छन् ।

फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बुंगुर छन् । ‘बुंगुर बिक्रीको कुनै समस्या छैन’, उनले भने, ‘ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए । उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको धारणा छ । बुंगुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन् ।

प्रकाशित मिति: बिहिबार, ०३ साउन, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.