विराटनगर । मंगलबार विहान मोरङको सुन्दरहरैँचा नगरपालिका–१ डाँगी टोलका ७५ वर्षीय जामुनलाल ऋषिदेव बेलबारी नगरपालिका–१ र ४ को सिमानास्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र दर्दनाक अवस्थामा भेटिए ।
मैलो कपडा लगाएका उनको हातखुट्टा किरा र कमिलाले खाइरहेका थिए । हिड्डुल गर्न नसक्ने उनी पीडा सहेर एकैठाउँमा बसिरहेँ चार–पाँच दिन । घाँस दाउरा गर्न गएको टोलीले उनलाई उद्धार गरी अस्पतालमा ल्याएका छन् ।
चारकोसे झाडीभित्र वृद्ध एक्लै कसरी पुगेभन्ने यकिन भइसकेको छैन ।
बुढ्यौलीले गलिसकेका उनलाई मंगलबार बिहान ११ः३० बजेतिर बेलबारी नगरपालिकाका स्वास्थ्यकर्मी, नगरप्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो ।
उद्धार गरेर सुरुमा उपचारका लागि बेलबारी नगर अस्पतालमा लगिएको थियो । त्यसपछि सुन्दरहरैँचा नगर अस्पतालमा भर्ना गरिएको थियो । बुधबार विराटनगरको कोशी अस्पताल ल्याइएको छ ।
मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की वृद्ध जामुनलाल कसरी एकान्त जंगलमा पुगेका हुन् भनेर अनुसन्धान भइरहेको बताउँछन् । राम्ररी बोल्न नसक्ने वृद्ध सबै कुरा बताउन सक्दैनन् । कसले, कहाँबाट, कसरी वन क्षेत्रको बीच भागमा ल्याएर वृद्धलाई छाडेको हो भन्ने खुल्न बाँकी छ ।
‘जंगलको बीचमा वृद्ध एक्लै फेला परेको भनेर वनका पदाधिकारीले प्रहरीलाई खबर गरेका थिए । वृद्ध आफ्नो नामसमेत भन्नसक्ने अवस्थामा थिएनन्,’ एसपी कार्की भन्छन्, ‘सबै पक्षसँग समन्वय गरेर जंगलबाट उद्धार गरी उपचारका लागि लगियो । स्वास्थ्य अवस्था ठीक भएर राम्ररी बोल्नसक्ने भएपछि धेरै कुरा खुल्छभन्ने अपेक्षा छ ।’

उनका अनुसार वृद्धले भनेको आफ्नो वतनका वडाध्यक्ष र गाउँटोलमा प्रहरी गएर फोटो देखाउँदै सोधीखोजी गरे पनि कसैले चिनेनन् । जनप्रतिनिधिलगायतसँग समन्वय गरेर थप खोजी गर्ने क्रममा सुन्दरहरैँचा–१ डाँगी टोलमा घर रहेको प्रहरीले पत्ता लगायो ।
वृद्धलाई छोरा–बुहारीले मोटरसाइकलमा ल्याएर ४ दिनअघि जंगलमा छाडिदिएको हल्ला चलेको थियो । तर उनका छोरा आफै विरामी छन् । सहज रुपमा हिड्डुल गर्न सक्दैनन् ।
प्रहरीका अनुसार वृद्ध जामुनलालकी पत्नीको यसअघि नै मृत्यु भइसकेको छ । उनका दुई छोरा छन् ।
जेठा छोरा जल्वा ऋषिदेव परिवारसहित घरमै र कान्छो छोरा दिनेश ऋषिदेव परिवारसहित भारतको हरियाणास्थित कुखुरा फार्ममा काम गरेर बस्ने गरेको प्रहरीले पत्ता लगाएको छ । एउटा छोराको भने मृत्यु भएको थियो ।
सुन्दरहरैँचा नगरपालिकाकी उपमेयर अकली चौधरीका अनुसार जेठा छोरा जल्वासमेत शारीरिक रुपमा अशक्त छन् । ‘राम्ररी हिँडडुल गर्न नसक्ने उहाँले मोटरसाइकल चलाउन सक्ने कुरै भएन । लामो सयमदेखि हाइड्रोसिलको बिरामी हुनुहुँदो रहेछ,’ चौधरी भन्छिन्,‘ वृद्धलाई छोरा–बुहारीले जंगलमा छाडिदिए भनेर हल्ला चलाइयो । त्यो गलत रहेछ ।’
उनका अनुसार वृद्धले शुद्ध नेपाली बोल्न जान्दैनन् । ‘तंग्रिएर राम्ररी होसमा आइसकेपछि सबै कुरा खुल्छ होला । प्रहरीले अनुसन्धान गरिरहेको छ,’ चौधरी भन्छिन् । घर छाडेर बाहिर बस्न थालेको १५ वर्षभन्दा धेरै भयो भनेर परिवारका सदस्यले भनेको उनले बताइन् ।
साझेदारी वनका अध्यक्ष दिनेश गिरीका अनुसार वन क्षेत्रको निगरानी र गस्तीका लागि गएकाहरुले वृद्धलाई फेला पारेका थिए । ‘जोकोही मानिस पुग्नै नसक्ने ठाउँमा जंगलको बीचमा लगेर छाडिएको रहेछ,’ उनले भने, ‘वनको गस्ती टोलीले फेला पारेको हो ।’
वृद्ध फेला परेको वन क्षेत्रमा जंगली हात्तीको ‘मुभमेन्ट’ धेरै हुने गिरीले बताए ।
‘जंगलमै लगेर छाडिएको चैं पक्का हो । बुढ्यौली अवस्थामा एक्लै हिँडेर जोकोही त्यहाँ पुग्न सक्दैनन्,’ उनले भने, ‘सुरुमा त छोरा–बुहारीले छाडिदिएको भनेजस्तो लागेको थियो । तर, वास्तविक कुरा हामीलाई थाहा भएन ।’
बोरामा दुईतिर घोचा हालेर बनाइएको अस्थायी स्ट्रेचरमा बोकेर वृद्धलाई गाडी चल्ने ठाउँसम्म लगिएको र त्यहाँबाट अस्पताल पुर्याइएको उनले बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,342)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)