प्राबिधिक जनशक्तिलाई रोजगार दिन विश्वविद्यालयको आग्रह 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । दक्ष जनशक्त्तिलाई स्वदेशमै रोजगार दिन विश्वविद्यालयले  उद्योगहरूसँग आग्रह गरेको छ ।

मनमोहन प्राविधिक विश्वविद्यालयले रोजगार दाताहरूसँग  छलफल गर्दै उत्पादन भएका दक्ष प्राविधिक जनशक्त्तिहरु भरपर्दो अवसर नपाउँदा वैदेशिक रोजगारमा जान बाध्य हुनु परिरहेकोले  उनीहरूलाई स्वदेशमै रोजगार दिएर पलायन हुनबाट रोक्न उद्योगहरूसँग  आग्रह गरेको हो ।

मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले आफूहरूले   व्यवहारिक रुपमा स्वदेशका उद्योगहरूका लागि सुहाउँदो जनशक्ति उत्पादन गरिरहेकोले उद्योगहरूले रोजगारमा प्राथमिकता दिनु आग्रह गरे  । उनले प्राविधिक  विश्वविद्यालयबाट उत्पादित जनशक्ति स्वदेशका लागि मात्र नभएर विदेशका लागि पनि दक्ष हुनेगरेकोले  स्वदेशमै रोजगार पाए अझै धेरै गुणस्तरीय जनशक्ति उत्पादन गर्न  उत्प्रेरणा हुने बताए ।

उपकुलपति पोखरेलले उद्योगीहरूलाई आग्रह गर्दै भने ,  ;हामी दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न लगानी गर्छौ तर उद्योगहरूले स्वदेशमै रोजगार दिन आनाकानी गर्नुहुँदैन ।’ विश्वविद्यालयका रजिष्ट्रार डा दिलनाथ फुँयालले रोजगारमा प्राथमिकता दिए सुहाउँदो जनशक्ति उत्पादन गर्न हौसला बढ्ने बताए । 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति  हिक्मत कार्कीले सरकारले स्थापना गरेको  देशको पहिलो प्राविधिक विश्वविद्यालयले हरेक वर्ष अनुसन्धानमा मात्र नभएर व्यावहारिक रुपमा पनि  दक्ष  जनशक्ति उत्पादन गर्नेगरेकाले उनीहरूले स्वदेशमै भरपर्दो रोजगार पाए देशको विकासमा सहयोग पुग्ने बताए ।

उनले दक्ष प्राविधिक जनशक्ति उत्पादन गराउन विश्वविद्यालय  र रोजगार सृजना गर्ने उद्योगहरूलाई प्राथमिकता दिएर सहयोग गर्न प्रदेश सरकार तयार रहेकाे बताए । मुख्यमन्त्री कार्कीले नेपालमा उत्पादन भएका दक्ष जनशक्तिलाई बेवास्ता गरेर भारतीयहरूमा मात्र दक्ष र भरपर्दा हुन्छन भन्ने सोचबाट उद्योगीहरू  मुक्त हुनुपर्छ भन्दै स्वदेशी जनशक्ति रोजगार भएमात्र प्राविधिक शिक्षाको लगानी सार्थक हुने बताए ।

मुख्यमन्त्री कार्कीले भने ,  प्राविधिक जनशक्ति विना देशको विकास अगाडि बढ्न सक्दैन यसैले रोजगार दिने उद्योग र शिक्षा दिने विश्वविद्यालयलाई सहयोग गर्न प्रदेश सरकार तयार छ ।’

कोशी प्रदेशका समाजिक विकास मन्त्री  तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सहकुलपति पाँचकर्ण राईले उत्पादन भएका दक्ष जनशक्तिले स्वदेशमै रोजगार नपाएसम्म देशको बेरोजगारी अन्त गर्न सहयोग नपुग्ने भएकोले उद्योगहरूले आफ्नै जनशक्तिलाई रोजगारमा प्राथमिकता दिन आग्रह गरे ।

मन्त्री राईले प्राविधिक जनशक्ति देश विकासका लागि आवश्यक भएकोले उनीहरूले स्वदेशमै रोजगार पाउन सके मात्र दक्ष शिक्षित युवाहरू पलायन हुनबाट रोक्न सकिने बताए ।

पूर्व समाजिक विकास मन्त्री तथा मनमोहन विश्वविद्यालयका संरक्षक जीवन घिमिरेले मनमोहन प्राविधिक विश्वविद्यालय प्रदेश सरकारको गौरवको सम्पत्ति भएकोले लगानी बढाएर दक्ष प्राविधिक जनशक्ति उत्पादन गराउन चासो दिन प्रदेश सरकारलाई आग्रह  गरे । घिमिरेले  सम्झौता अनुसार प्रदेश सरकारले लगानी नगर्दा  विश्वविद्यालयको स्तरोन्नतिमा ढिलाई भैरहेको भन्दै प्रदेश सरकारले लगानी बढाउन कन्जुस्याईँ गर्न नहुने बताए । 

विश्विद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राचार्य ईन्जिनियर सुदिप ढुंगानाले आफूहरूले हरेक वर्ष ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स र सिभिल ईन्जिनियरिडदेखी आईटी क्षेत्रका पाँचसय बढी दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी गराए । तर उनीहरूले स्वेदशमा रोजगार नपाउँदा विदेश जानेगरेको बताए ।

प्रचार्य ढुंगानाले पोलिटेक्निकले स्वदेशका उद्योगहरुको आवश्यकतालाई अध्यन गरेर विभिन्न क्षेत्रका शीपपयुक्त्त जनशक्ति पनि उत्पादन गरिरहेकोले उनीहरूलाई रोजगारमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

उद्योग संगठन मोरडका अध्यक्ष राकेश सुरानाले उत्पादन भएका नेपाली जनशक्त्तिहरुलाई आपेक्षा अनुसार पारिश्रमीक दिन उद्योगहरु असर्मथ भैरहेको भन्दै प्रदेश सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष सुरानाले उत्पादन भएका जनशक्त्तिहरु स्वदेशमा भन्दा विदेशको रोजगारतर्फ आर्कषित हुनेगरेकोले पनि उद्योगहरु भारतबाट प्राविधिक जनशक्ति ल्याउन बाध्य भैरहेको बताए । उनका अनुसार अर्कोतिर उत्पादित जनशक्ति सुहाउँदो नहुँदा रोजगार दिन उद्योगहरु असर्मथ हुनेगरेका छन ।अध्यक्ष सुरानाले भने , ’उद्योग सुहाउँदो प्राविधिक जनशक्ति उत्यादन भए भारतीयलाई हैन स्वदेशीलाई नै रोजगार दिन उद्योगहरु तयार छन तर सरकारको सहयोग आवश्यक पर्छ ।’ 

दुहवी नगरपालिका प्रमुख बेदनारायण गच्छदारले प्राविधिक जनशक्ति उत्पादन गराउन आफूहरूले हरेक वर्ष छात्रबृत्ति दिईरहेको जानकारी गराउदै उद्योगहरूले भरपर्दो रोजगार दिएमा पालिकाले छात्रबृत्तिमा अझै लगानी बढाउने प्रतिबद्धता जनाए । उनले हरेक पालिकाहरुले पनि प्राविधिक जनशक्ति उत्पादन गराउन लगानी गर्नुपर्नेमा जोड दिए । पालिका प्रमुखले गच्दारले भने , ‘प्राविधिक जनशक्त्तिको स्नानिय तहमा एकदमै खाँचो छ यसैले पालिकाहरुले पनि लगानी गर्न चासो बढाउनुपर्छ । उनले विश्विद्याललाई पालिकाहरुसँग सहकार्य गर्न पनि आग्रह गरे । ’ 

कोशी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगामा रहेको देशको पहिलो मनमोहन  प्राविधिक विश्वविद्यालयले  स्नातक र डिप्लोमा तर्फ सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिक बिषयका दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।  स्नातक तर्फ फार्मेसीका दक्ष जनशक्ति उत्पादन गर्न लागिपरेको छ ।

अस्पतालका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्न अस्पताल मनेजमेन्ट विषयमा स्नातोकोत्तरको पठनपाठन पनि सुरु गरेको छ । मनमोहनले स्वदेशका उद्योगहरूलाई सुहाउँदो प्राविधिक जनशक्ति उत्पादन गर्न प्राकृतिक चिकित्सादेखी विषयको पठनपाठन गराउन पाठयक्रम पनि तयार गरिसकेको छ ।

मनमोहनले भावी दशबर्षे शैक्षिक कार्ययोजना बनाएर  तीन वटा स्कूलहरु स्थापना गरि  दशवर्षमा स्नातक, स्नातकोत्तरदेखी पिएचडी सम्मका २८ वटा विभिन्न विषयहरु सञ्चालनगरि हरेक बर्ष २८ सय ३१ ज्ना विभिन्न बिषयका दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य  छ ।

प्रकाशित मिति: शुक्रबार, २८ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.