सृष्टिमा अन्तिम सेतो जिराफ

Satya Sanchar आहुति

(पृथ्वीमा बाँकी रहेका तीनमध्ये दुई वटा सेतो जिराफ सिकारीहरूबाट मारिएपछि)

प्रकृतिका सबै एकान्तभन्दा टाढा म केवल एकलास हुँ

मानिसको मूर्खताको विस्फोटले उत्पन्न अवसान हुँ

सगरमाथा जति तन्काए पनि आफ्नो लामो घाँटी

देख्न पाउन्न अब आफन्तहरू पृथ्वीको कुनै घाँसे मैदानमा

उछिनेर चितुवालाई वेगवान रहे पनि जीवनभर

कहिल्यै बन्न सक्ने छैन आफ्नै बथानको हिस्सा

म एक्लो होइन, फगत एउटा हुँ

म एक्लोपन पनि लुटिएको अन्तिम हुँ

सेतो जिराफ

सृष्टिमा अन्तिम सेतो जिराफ  !

हामी सेता थियौँ

तर कहिल्यै अपमानित भएनन् कालो रङका हात्तीहरू

हामी अग्ला थियौँ

तर कहिल्यै हेपिएनन् होचा मृगहरू

या हाम्रो ढाडमा बस्न रुचाउने चञ्चल पन्छीहरू

भक्कानिएर आक्रोशित त हुन्थ्यौँ नै

जब सिंहको बथानले मार्दथ्यो परिवारका सदस्य

तर यस्तो गमेर दिन्थ्यौँ माफी पनि

घाँस खान नजानेका सिंहको सिरिफ भोकको मामला हो

ओहो  !

आज निसहाय अन्तिम अस्तित्व हुँदा सोध्न मन लाग्छ

सिंगै प्रकृतिलाई दुख्ला ठानेर

वृक्षका एक–एक पात पनि बिस्तारै चुड्ने हाम्रो स्वभाव

के तुच्छ मूर्खता थियो ?

समय अकस्मात अन्त्य भयो

जब मारिए मानिसबाट मेरी आमा र बहिनी

खरानीको डंगुर बन्यो हरियो घाँसको मैदान

असमय बिदाइमा बिनाबतास हल्लिरहेछन्

अलग थलग उभिएका रूखका पातहरू

प्रेमको हतारो न सहजीवीसँग खेलको चटारो

आमासँग लाडिने तिर्सनासमेत गायब

न बाँकी रह्यो

लामा घाँटीका आफूजस्तै सन्तान जन्माउने पर्खाइ

यदाकदा मुढाहरू छन् खुसीमा सामेल नहुने

दुस्खमा सुम्सुम्याउन नचाहने ढिस्काहरू छन्

मनको कुत्कुती नसुन्ने हावाका उदास झोक्काहरू

अनि नाफाका लागि कुदिरहेका मानिसहरू छन्

रातभरि आमाका आँखा बनेर तर्साउने जून

दिनभरि उद्देश्यहीन उज्यालोले जिस्काउने घाम

उफ !

अझै हराभरा धर्तीबीच अन्तिम हुँदा चिच्याउन मन लाग्छ

मेरो वंशको यो भयानक विनाश

सृष्टिको अनिवार्य आवश्यकता थियो ?

म अन्तिम हुँ

आगामी दोस्रो अन्तिमका निम्ति पहिलो पनि

समृद्धिको धुवाँले नासिने बीभत्सता वृक्षहरूले भोग्नेछन्

जसका पातहरू जीवनका स्रोत थिए

तेस्रो सिकार हुनेछन् सायद फट्यांग्राहरू, माहुरीहरू

के त्यसपछि आउनेछ पालो भ्यागुताहरूको ?

पाँचौँ पालोमा देखिनेछ त्यस्तो दृश्य

जहाँ पेन्गुइन दम्पतीले हिउँभन्दा चिसो लिनेछन् आलिंगन

छैठौँ दृश्य अनिवार्य छ लगत्तै

परमाणु युद्ध सकिएपछि पृथ्वीको सबैभन्दा धनी मानिस

सुकेको अमेजन नदीको बगरमा प्यासले मर्नेछ

संभवतस् अझै बाँकी रहनेछ एक मानव जोडी

तर रहनेछैन विषादीमय ती शरीरमा प्रजनन क्षमता !

समस्त प्रेमीहरूको मृत्युसँगै प्रेमको पनि अन्त्य हुनेछ

सबै फूलका बोटहरू सुकेपछि सुन्दरताको मृत्यु हुनेछ

शिशुहरूसँग रमाउने जीवनको महान खुसी सकिनेछ

स्नेह रहनेछैन धर्तीसँग मात्र तेजावको गन्ध हुनेछ

नदी बतासले उमार्ने चराले सुसेल्ने संगीतको मृत्यु हुनेछ

प्रकोपबाहेक आकाशसँग बच्नेछैन कुनै न्यानो

तब मर्नेछ अन्तिम मानव जोडीको एक सदस्य

अनि प्रकट हुनेछ मानवको सबैभन्दा श्रेष्ठ आविष्कार

अर्थात्

धर्तीको अकल्पनीय एकलासको अन्तिम मानिस !

धिक्कार !!!

मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु

अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ?

म सेतो जिराफ

सृष्टिमा अन्तिम सेतो जिराफ !

(लेखक तथा साहित्यकार आहुतिकाे कविता साभार गरिएकाे हाे )

प्रकाशित मिति: सोमबार, १० असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.