काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी प्रचारप्रसार उत्कर्षमा पुगेको छ । तर, आज (सोमबार) मध्यराति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुँदैछ ।
मतदानको ४८ घण्टा अघिदेखि लागू हुने मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ । साँझ ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताको मतदान प्रक्रिया पूरा नभएसम्म यो अवधि जारी रहने कानुनी व्यवस्था छ ।
निर्वाचनको अन्तिम घडीसम्म उम्मेदवार र राजनीतिक दलहरूले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न सभा, अन्तरक्रिया, घरदैलो र सामाजिक सञ्जालमार्फत तीव्र प्रचारप्रसार गर्दै आएका छन् । तर, मध्यरातबाट भने यस्तो सम्पूर्ण गतिविधि पूर्ण रूपमा निषेध हुनेछ । मौन अवधिमा उम्मेदवार, राजनीतिक दल, तिनका पदाधिकारी तथा भ्रातृ संगठनहरूले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउने छैनन् ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को बुँदा नम्बर १७ मा मौन अवधिसम्बन्धी स्पष्ट व्यवस्था छ । उक्त आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि दल वा उम्मेदवारले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, कार्यशालाजस्ता कार्यक्रम आयोजना गर्न पाउने छैनन् । उपदफा ‘क’ले राजनीतिक दललाई सबै प्रकारका प्रचारात्मक गतिविधि रोक्न बाध्य बनाएको छ ।
आयोगले मतदानस्थलको तीन सय मिटर वरपर राखिएका उम्मेदवारका पोस्टर, ब्यानर, झण्डा लगायतका प्रचार सामग्री हटाउन पनि निर्देशन दिएको छ । मौन अवधिमा प्रचार सामग्री राखिएको पाइएमा कारबाही गरिने आयोगले जनाएको छ ।
सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य कुनै माध्यमबाट उम्मेदवार वा दलको पक्ष–विपक्षमा सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया जनाउन नपाइने व्यवस्था आचारसंहितामा उल्लेख छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर बनाइने सामग्रीसमेत निषेध गरिएको छ ।
मौन अवधिलाई संवेदनशील समयका रूपमा लिँदै आयोगले सबै जिल्लाका अनुगमन समितिलाई विशेष निर्देशन दिएको छ । प्रचार बन्द भएपछि उम्मेदवारहरूले आर्थिक चलखेल, भोजभतेर, घरदैलोमार्फत गोप्य रूपमा मतदातालाई प्रभावित पार्ने प्रयास गर्न सक्ने आकलन गर्दै सुरक्षा निकायलाई पनि चनाखो रहन भनिएको छ । प्रहरी र प्रशासनले सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी बढाउने तयारी गरेका छन् ।
निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ अनुसार मौन अवधि उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिबाना तथा उम्मेदवारी रद्दसम्म हुनसक्ने व्यवस्था छ । सोही ऐनको दफा २४ को उपदफा (५) मा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा प्रचारप्रसार गर्न नहुने स्पष्ट कानुनी प्रावधान छ ।
मौन अवधिको मूल उद्देश्य मतदातालाई स्वतन्त्र र निष्पक्ष रूपमा निर्णय लिन अनुकूल वातावरण सिर्जना गर्नु हो । प्रतिस्पर्धी उम्मेदवारबीच अन्तिम समयमा हुने आरोप प्रत्यारोप, तनाव वा झडप रोक्न तथा मतदातामाथि प्रभाव नपरोस् भन्ने हेतुले अन्तर्राष्ट्रिय अभ्यासअनुसार यो व्यवस्था लागू गरिन्छ । शान्त र भयमुक्त वातावरणमा मतदान सम्पन्न गराउन यसले सहयोग पुग्ने विश्वास आयोगको छ ।
निर्वाचनको सन्दर्भमा अन्तर्राष्ट्रिय सिमानासमेत बन्द रहने छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउने उद्देश्यले सरकारले मतदान सम्पन्न नभएसम्मका लागि नाका बन्द गर्ने छ ।
निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदान हुनुभन्दा ७२ घण्टा अघि सिमाना बन्द गर्नुपर्ने प्रावधान छ । आयोगको सिफारिसका आधारमा गृह मन्त्रालयले सीमा क्षेत्रमा कडाइ गरिएको जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,150)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (997)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (330)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (282)