युद्धको चपेटामा खाडी मुलुक, त्रासमा नेपाली

Satya Sanchar सत्य सञ्चार

एजेन्सी । अमेरिका र इजरायलले स‌ंयुक्त रुपमा इरानमाथि सैन्य कारबाही गरेपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै प्रत्याक्रमण सुरु गर्दा मध्यपूर्व क्षेत्र युद्धको चपेटामा परेको छ ।

पछिल्लो २४ घण्टामा कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, साउदी अरेबिया र जोर्डनसम्म विस्फोटका आवाज गुञ्जिएका छन् । यससँगै ती देशहरूमा कार्यरत लाखौँ नेपाली नागरिक गहिरो त्रासमा छन् । मध्यपूर्व युद्धमा होमिएसँगै त्यहाँ रहेका नेपालीहरु त्रासमा परेका हुन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बहराइनको राजधानी मनामा, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई र कुवेत सहर नजिक रहेका अमेरिकी हवाई अड्डाहरूलाई लक्षित गरी ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरिएको दाबी गरेका छन् । बहराइनको आन्तरिक मन्त्रालयले केही आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेको छ भने दुबईको पाम जुमेराह क्षेत्रमा आगलागी भएको र केही व्यक्ति घाइते भएको जानकारी सार्वजनिक गरिएको छ ।

कतारको दोहामा राति ठूलो विस्फोटको आवाज सुनेको स्थानीयले बताएका छन् । कुवेतमा केही घाइतेहरूलाई अस्पताल पुर्‍याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले विशेष यात्रा सचेतना सूचना जारी गर्दै इजरायल र इरानसहित सम्पूर्ण खाडी क्षेत्रमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले घरभित्रै सुरक्षित बस्न, स्थानीय सुरक्षा निकायको निर्देशन पालना गर्न र सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनामा विश्वास नगर्न अपिल गरेको छ ।

सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावासहरूलाई उच्च सतर्क अवस्थामा राखिएको पनि मन्त्रालयले जनाएको छ । सरकारी तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्समा करिब ६ लाखभन्दा बढी नेपाली कार्यरत छन् ।

कतारमा झण्डै ५ लाख, साउदी अरेबियामा ४ लाख ५० हजार, कुवेतमा १ लाख २० हजार तथा बहराइन र ओमानमा ५० हजारभन्दा बढी नेपाली रोजगारीमा छन् । इजरायलमा करिब ५ हजार नेपाली स्याहार सुसार र कृषि क्षेत्रमा कार्यरत छन् । यी सबै मुलुक हालको तनावबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा, दुबई र रियादका लागि हुने केही उडानहरू अस्थायी रूपमा प्रभावित भएका छन् । उडान तालिका अनिश्चित बनेपछि स्वदेश फर्किन चाहने र बिदा मनाएर फर्कन खोजिरहेका नेपालीहरू अन्योलमा परेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका छन् । उनले अमेरिका र इजरायलको संयुक्त कारबाही सफल भएको उल्लेख गरेका छन् । तर, इरानले खामेनी जीवित रहेको र युद्धको नेतृत्व गरिरहेको दाबी गर्दै अमेरिकी भनाइलाई अस्वीकार गरेको छ । यी परस्पर विरोधी दाबीहरूले क्षेत्रीय तनाव झन् चर्किएको छ ।

मध्यपूर्व नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य हो । नेपाल भित्रिने कुल विप्रेषणको ठूलो हिस्सा यही क्षेत्रबाट आउने गर्छ । द्वन्द्व थप चर्किएर  नेपालमा प्रत्यक्ष रूपमा असर पर्नेछ ।

प्रकाशित मिति: आइतबार, १७ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.