विकासको मोडल बोकेर घरदैलोमा योगेन्द्र मण्डल

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बनेको छ । यस क्षेत्रका निवर्तमान सांसद तथा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’का अध्यक्ष योगेन्द्र मण्डल आफ्नो निर्वाचन क्षेत्रका टोल-टोल र बस्ती-बस्तीमा पुगिरहेका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवार पनि घरदैलाेमा छन् ।

२०७९ सालकाे निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका मण्डल यसपटक आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठन गरेर विकासको ‘एजेन्डा’ सहित मतदाताको घरदैलोमा छन् ।

मण्डलको यो अभियान केवल भोट माग्नमा मात्र सीमित छैन,उनी आफूले २ वर्ष ८ महिनाको छोटो कार्यकालमा गरेका कामको फेहरिस्त र बाँकी रहेका योजनाहरूको खाका लिएर जनताको बीचमा गएका छन् । संसद विघटनका कारण आफूले सुरु गरेका धेरै महत्वपूर्ण कामहरू बीचैमा रोकिएको भन्दै उनले ती अधुरा योजनाहरूलाई पूर्णता दिन अवसर मागिरहेका छन् ।

विद्यालयमा अंग्रेजी माध्यम र पढ्दै कमाउँदै कार्यक्रम

मण्डल आफ्नो छाेटाे कार्यकाल शिक्षा क्षेत्रमा उल्लेख्य सुधारकाे प्रयास गरेकाे बताउँछन् । क्षेत्र नम्बर ५ का ८५ वटा सामुदायिक विद्यालयमध्ये ४० वटा विद्यालयमा उनकै पहलमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको छ ।

विद्यालयमा अभिभावकसँग सम्वाद गर्दै मण्डल । फाइल फाेटाे

“मेरो मुख्य उद्देश्य भनेको धनी र गरिबका छोराछोरीबीचको शैक्षिक खाडललाई सधैँका लागि अन्त्य गर्नु हो, जबसम्म सरकारी विद्यालयमा निजी सरहको गुणस्तरीय शिक्षा हुँदैन, तबसम्म समाजमा समानता आउँदैन,आफ्नो शिक्षा योजनाबारे मण्डल भन्छन्,’हामीले ४० वटा विद्यालयमा अंग्रेजी माध्यम सुरु गरिसक्यौं, अबको ५ वर्षभित्र क्षेत्रका सबै विद्यालयलाई प्रविधिमैत्री र अंग्रेजी माध्यमको बनाउने मेरो संकल्प छ।”

उनकै पहलमा चार वटा विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम पनि सञ्चालनमा छन् । यसले विद्यार्थीलाई सीपसँग जोडेकाे छ । पढ्दै कमाउँदै कार्यक्रम विस्तार गर्ने उनकाे याेजना छ ।

स्वास्थ्यमा सेवाभाव : नाफारहित अस्पताल

स्वास्थ्य क्षेत्रमा मण्डलले गरेको कामको चर्चा देशभरि छ । कटहरी गाउँपालिका–२ हल्दिबारीमा उनकै सक्रियतामा २ सय बेडकाे ‘जीवन विकास सामुदायिक अस्पताल’ सञ्चालनमा आएको छ । यो अस्पताल कुनै व्यापारी वा नाफा कमाउने समूहको नभई समुदायकै हितका लागि खोलिएको उनको दाबी छ । सामुदायिक पहलमा स्थापना भएकाे याे अस्पताल नेपालकै ठूलाे अस्पताल हाे ।

‘स्वास्थ्य सेवा व्यापार हुनुहुँदैन, हामीले स्थापना गरेको अस्पतालले मुनाफा वितरण गर्दैन,’उनले भने,’ गरिबले पैसाकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्ने यो प्रयास हो ।’ अस्पतालमा यस क्षेत्रका बासिन्दाले उपचार शुल्कमा ४० प्रतिशत छुट पाउँछन् ।अार्थिक अवस्था कमजाेर भएका स्थानीयले निशुल्क उपचार पाउँछन् । गत जेठबाट सुरू भएकाे अस्पतालबाट सयाैंले निशुल्क उपचार पाइसकेका छन् ।

आर्थिक सशक्तीकरण : एक लाख महिला स्वरोजगार

योगेन्द्र मण्डलले राजनीतिमा आउनुअघि नै ‘जीवन विकास समाज’मार्फत सामाजिक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाइसकेका थिए । २५ वर्ष सामाजिक क्षेत्रमा काम गरेका उनकाे सक्रियतामा सुरू भएकाे जीवन विकास लघुवित्तमार्फत ३ लाख १७ हजारभन्दा बढी महिलाहरू आर्थिक कारोबारमा जोडिएका छन् । मण्डल भने अहिले लघुवित्तमा भने छैनन् तर, उनकै पहलमा सुरू भएकाे लघुवित्त मार्फत १ लाख महिलाहरू स्वरोजगार भएका छन् । ६० हजारभन्दा बढी महिला उद्यमी बनेर आफ्नो परिवार चलाइरहेका छन् ।

दुई वर्षमा चार सयलाई राेजगारी

उनले आफ्नाे २ वर्ष ८ महिनाकाे अवधिमा उनले ४०० सय जनालाई प्रत्यक्ष रोजगारी सृजना गरेका छन् । मण्डलकै पहलमा कटहरी गाउँपालिका २ हल्दीबारीमा स्थापना भएकाे अस्पतालमा मात्रै दुई सय जनाले रोजगारी पाएका छन् । अन्य क्षेत्रमा मण्डलले थप दुई सय जनालाई रोजगारीको अवसर सृजना गरेका हुन् । मण्डलले सुरु गरेको जीवन विकास समाज मार्फत सञ्चालन भएको विभिन्न संस्थाहरुमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

अधुरा योजना र जनताको विश्वास

दशकौंदेखि नागरिकताबाट वञ्चित नागरिकहरूलाई अधिकार दिलाउन मण्डलले सदनदेखि सडकसम्म खेलेको भूमिकालाई स्थानीयले बिर्सेका छैनन् । तर,संसदको कार्यकाल पूरा हुन नपाउँदा धेरै पूर्वाधारका कामहरू बीचैमा रोकिएको उनी बताउँछन् । ‘मतदातासँग उठाएका र गरेका प्रतिवद्धता पुरा गर्ने अभियान सुरु गरिसकेको थिए, जनताको सवाल संसदमा उठाउन कहिल्यै पछि परिन्,’उनले भने,’ याेजना अनुसार काम गर्दागर्दै संसद विघटन भयो ।’ उनले गत निर्वाचनमा निर्वाचित भएपछि आफ्नाे संगठन नभएका कारण  सबै टाेल पुग्न नपाएकाे बताउँछन् । पार्टी गठन भएपछि भने अब टाेलटाेलमा पार्टीकाे उपस्थिति रहने र आफू पनि पुग्ने उनले जानकारी दिए ।

मतदाताको प्रतिक्रिया: ‘काम गर्नेलाई मौका दिनुपर्छ’

मण्डलको काम गर्ने शैलीबाट प्रभावित मतदाताहरू यसपटक उनलाई जिताउन उत्साहित देखिएका छन् । जहदा गाउँपालिका–२ का स्थानीय मतदाता मनोज मण्डल भन्छन्,’योगेन्द्र मण्डलले शिक्षा र स्वास्थ्यमा जुन काम गर्नुभयाे, त्यो पहिले भएकाे थिएन । कार्यकाल पूरा भएकाे भए अझै धेरै काम हुन्थ्याे हाेला ।”

अर्का स्थानीय रामेश्वर महतोले राेजगारी सृजना, शिक्षा र स्वास्थ्यमा उल्लेख्य काम भएकाे बताए । ‘उहाँले बोलेर भन्दा पनि गरेर देखाउनुभएको छ । जहदा र कटहरीका ग्रामीण भेगका बासिन्दाले पनि अहिले आधुनिक स्वास्थ्य सेवा र राम्रो शिक्षा पाइरहेका छन्,’ उनले भने ।

स्वतन्त्रबाट पार्टीको नेतृत्वमा पुगेका योगेन्द्र मण्डलको यो चुनावी यात्रा मोरङ ५ का लागि केवल एउटा निर्वाचन मात्र नभई विकासको मोडलको परीक्षण पनि बनेको छ । क्षेत्र नम्बर ५ का जनताले उनको काम र प्रतिबद्धतालाई कसरी मूल्यांकन गर्छन्, त्यो त निर्वाचनको परिणामले देखाउने नै छ, तर मण्डलको पल्ला भारी देखिएको  सामाजिक अगुवाहरु बताउँछन् ।

प्रकाशित मिति: मङ्गलबार, १२ फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.