नेपालबाट अदुवा निर्यात बढ्याे

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपालबाट अदुवा निर्यातमा बढेकाे छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को ७ महिनाकाे (साउनदेखि माघसम्म)अवधिमा अदुवा निर्यात बढेकाे हाे ।

याे अवधिमा नेपालले ९ हजार ६ सय ५६ टन (९६ लाख ५६ हजार ५ सय ६० किलो) अदुवा विश्व बजार निर्यात गरेको छ । यसबाट मुलुकमा कुल ७७ करोड ७९ लाख १९ हजार रुपैयाँ बराबर विदेशी मुद्रा भित्रिएको छ । गत आव २०८१/८२ सोही अवधिको तुलनामा यस वर्ष अदुवा निर्यात परिमाण झन्डै साढे तीन गुणा बढेको छ भने यसबाट हुने आम्दानी झन्डै दोब्बर वृद्धि भएको हो ।

गत वर्ष सात महिनामा नेपालबाट जम्मा २ हजार ७ सय १७ टन अदुवा मात्रै निर्यात भएको थियो, जसबाट देशले ३९ करोड ८४ लाख १९ हजारमात्र आम्दानी गरेको थियो ।

तथ्यांकलाई तुलनात्मक हेर्दा एक वर्ष अन्तरमा अदुवा निर्यातबाट हुने कुल आम्दानीमा करिब ३८ करोड रुपैयाँले वृद्धि भएको छ भने परिमाण झन्डै ६ हजार ९ सय ३९ टन बढेको छ ।

चालु आव नेपालबाट निर्यात भएको कुल अदुवामध्ये सबैभन्दा ठूलो हिस्सा ‘ताजा अदुवा’ को छ । यस अवधिमा ९ हजार १ सय ६१ टन ताजा अदुवा निर्यात भएको छ, जसबाट ५६ करोड ६५ लाख ४५ हजार आम्दानी भएको छ । जबकि, गत वर्ष सोही अवधिमा जम्मा २ हजार ४ सय ५३ टन ताजा अदुवा निर्यात गरी २८ करोड ४२ लाख रुपैयाँमात्र भित्रिएको थियो ।

नेपाली अदुवा भारत र बंगलादेशसहित युरोपको जर्मनी, खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियासम्म पुगेको छ ।

प्रकाशित मिति: आइतबार, १० फागुन, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.