विराटनगर । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा दलकाे दबदबा ताेड्दै मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डल विजयी भए । दलका उम्मेदवारलाई पराजित गरेर संसद पुगेका उनले किसान र भुइँ मान्छेको मुद्दालाई संसदमा पुर्याए ।
तीन वर्षपछि हुँदै गरेको संसदीय निर्वाचनमा उनी पुन उम्मेदवार बनेका छन् । स्वतन्त्र जितेका उनले याे पटक आफ्नै नेतृत्वमा गठन भएको राष्ट्रीय उर्जाशील पार्टीबाट उम्मेदवरी दिएका हुन् ।
फागुन २१ मा हुँदै गरेको निर्वाचनमा उनीसहित ठूला चार दलका उम्मेदवार मैदानमा छन् । नेपाली कांग्रेसले फुलकुमार लालवानीलाई उम्मेदवार बनाएको छ । नेकपा एमालेबाट मनोज अग्रवाल, नेपाली कम्युनिष्ट पार्टीबाट शिवकुमार मण्डल र राष्ट्रीय स्वतन्त्र पार्टीबाट आशा झा उम्मेदवार छिन् । स्वतन्त्रसहित २१ जना मैदानमा छन् ।
मोरङ क्षेत्र नम्बर ५ मधेश आन्दोलनपछि उदाएका नेता उपेन्द्र यादवको प्रभाव क्षेत्र हो । पहिलो संविधानसभामा जितेका उनी दोस्रो संविधानसभा निर्वाचनमा पराजित भएपछि यो क्षेत्रबाट सप्तरी २ लागे । मोरङ ५ मा जसपा मोरङ अध्यक्ष राजकुमार यादवलाई उम्मेदवार छन् । यादव २०७४ र २०७९ सालको निर्वाचनमा तेस्रो भएका थिए । २०७४ सालमा तत्कालिन नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवकुमार मण्डल विजयी भएका थिए । दाेस्राे संविधानसभाकाे निर्वाचनमा पनि उनी शिवकुमारसँगै पराजित भए ।
राजनीतिमा योगेन्द्रको फड्को
तीन वर्षअघि स्वतन्त्र उम्मेदवारी दिएर बिजयी भएका मण्डल जीवन विकास समाज र लघुवित्तकाे संस्थापक हुन् । जीवन विकास समाजमार्फत शिक्षा, स्वास्थ्य, लघुवित्त, कृषि वातावरणको क्षेत्रमा काम गरिरहेका उनले दुई हजार हारहारीलाई रोजगारी सृजना गरेका छन् ।
तीन वर्षअघि ‘चापाकल’ चुनाव चिन्ह लिएर स्वतन्त्र रूपमा संसद् छिरेका योगेन्द्रले जेनजी आन्दोलनपछि आफ्नै नेतृत्वमा ‘राष्ट्रिय ऊर्जाशील पार्टी’ गठन गरे । अघिल्लो निर्वाचनमा उनले पाएको ‘चापाकल’ चिन्हलाई नै अहिले आफ्नो दलको निर्वाचन चिन्ह बनाएका छन् । मण्डलले यो क्षेत्रमा आफ्नो व्यक्तिगत र दलगत प्रभावलाई आफ्नाे आधार मानेका छन् । अघिल्लाे पटक स्वतन्त्र निर्वाचन जितेका उनी याे पटक दल खाेलेर घरदैलाे गरिरहेका छन् ।
कांग्रेस र एमालेको ‘कमब्याक’
मोरङ–५ मा २०७९ को निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले दुवैका आफ्नै उम्मेदवार थिएनन् । त्यतिबेला एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई समर्थन गरेको थियो भने कांग्रेसले नेकपा मओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेको थियो । दोस्रो संविधानसभाको निर्वाचनपछि क्षेत्र नम्बर ५ मा प्रमुख सबै दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसले मारवाडी समुदायका फुलकुमार लालवानीलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले पनि व्यापारिक पृष्ठभूमि भएका मारवाडी समुदायका मनोज अग्रवाललाई अघि सारेको छ ।
एमालेले दुई वटा निर्वाचनपछि मोरङ क्षेत्र नम्बर ५ मा आफ्नै उम्मेदवार अघि सारेको हो । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । २०७९ सालमा एमालेले जसपा उम्मेदवार यादवलाई सहयोग गरेको थियो ।
याे क्षेत्रमा नेकपाका शिवकुमार मण्डल सबैभन्दा पुराना उम्मेदवार हुन् । २०६४ सालको अन्तरिम संसददेखि सुरु भएको उनको संसदीय यात्रा अहिले छैटौं पटक चुनावी मैदानमा छन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा ८ मतको झिनो अन्तरले जितेका मण्डलले २०७४ मा वाम गठबन्धनको बलमा जित हासिल गरेका थिए । पटक–पटक चुनाव लडेका र मन्त्रीसमेत भइसकेका मण्डलका लागि यसपटकको निर्वाचन अस्तित्वको लडाइँ बनेको छ । किनकी उनी तत्कालिन नेकपा माओवादी केन्द्रमा हुँदा जनार्दन शर्माको समूहमा थिए । अध्यक्ष प्रमण्डले बाम दलबीच एकता गर्दा जनार्दनले पार्टी छाडे । लामो समय निस्क्रिय रहेका उनी पछि नेकपामै जोडिए । उनी नेकपामै फर्कदा तत्कालिन माअाेवादीकाे एउटा समूह उनीसँग असन्तुष्ट छ ।
२०६४ सालको अन्तरिम संसदको मनोनित सांसद मण्डलले २०६४ यता निरन्तर चुनाव लडिरहेका छन् । २०६४ को संविधानसभाको निर्वाचन लडेका उनी उपेन्द्र यादवसँग पराजित भए । दुई क्षेत्रबाट चुनाव जितेका यादवले मोरङ ५ छाडेपछि २०६५ को उपनिर्वाचनमा मण्डल जसपा नेता जयराम यादवसँग पनि पराजित भए । २०७० सालमा तत्कालिन ४ (हाल ५)बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३ सय ५२ मत पाएका थिए ।
२०७४ सालमा अमृत अर्याललाई ३ हजार ७ सय ९२ मतले पराजित गरेका गर्दै शिवकुमार निर्वाचित भएका थिए । मण्डलले २२ हजार ९ सय ४५ मत प्राप्त गर्दा अर्यालले १९ हजार १ सय ५३ मत पाएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई यो क्षेत्रमा अमृत अर्यालले पराजित गरेका थिए ।
क्षेत्र नम्बर ५ दक्षिणी सीमा भारतसँग जोडिएको छ । यो क्षेत्रमा सडक पूर्वाधार,कृषि, नागरिकता र सीमापार चोरी निकासी पैठारीको समस्या छ । दलका उम्मेदवारले सडक पूर्वाधार, कृषि रोजगारी र नागरिकताको समस्या सामधान गर्ने प्रतिवद्धता व्यक्त गर्दै चुनावी अभियानमा होमिएका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,152)
जीवन विकासले बोलायो साधारणसभा (1,078)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,065)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (998)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (967)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (872)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (442)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (332)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (283)