नेपाली कांग्रेसको विशेष महाधिवेशनको जारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । महाधिवेशनको उद्घाटन सत्रमा नेताहरूले बाेलिरहेका छन् । महाधिवेशनमा दिउँसो ३ बजेसम्म १७ सय प्रतिनिधिले नाम दर्ता गरिसकेको सचिवालयले जानकारी दिएको छ ।

महाधिवेशन स्थलको मूल गेटसँगै रहेको स्टलबाट नाम दर्ता गर्ने काम भइरहेको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिए ।

कांग्रेसका काठमाडौं सभापति सबुज कृष्ण बानियाँको सभापतित्वमा राजधानीको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको हो । लामो समयदेखि पार्टीभित्र देखिँदै आएको सांगठनिक, विधानगत र राजनीतिक विषयमा निर्णय लिनुपर्ने आवश्यकता औँल्याउँदै बोलाइएको विशेष महाधिवेशनलाई कांग्रेसको आन्तरिक राजनीतिक जीवनमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रमा पार्टीका महामन्त्री गगन थापासहित विभिन्न तहका नेता तथा महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको छ । विशेष महाधिवेशनमा पार्टीका शीर्ष नेताहरूलाई औपचारिक प्रतिनिधिभन्दा पनि अतिथिका रूपमा सहभागी गराइएको छ । जसलाई पार्टीभित्रको शक्ति सन्तुलन र प्रक्रियागत सन्देशसँग जोडेर हेरिएको छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७(२) बमोजिम विशेषको माग गरेका थिए । सोही अनुसार महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले महाधिवेशन बोलाएका हुन् । संस्थापन पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गरेको छ । महाधिवेशन सोमबारसम्म चल्नेछ ।

प्रकाशित मिति: आइतबार, २७ पुष, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
© 2024 Satyasanchar. All Rights Reserved.