भद्रपुर । झापाकी प्यारीमाया लिम्बू झपा ढाका उद्यम गर्छिन् । बुद्धशान्ति– ४ मन्दिरचोकमा ढाका बनाउछिन्, अरुलाई पनि ढाका बनाउन सिकाइरहेकी छन् ।
एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग उद्योग दर्ता गराएर उनले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आएकी छन् । उनले आफ्नो उद्योग र विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढीलाई ढाकासम्बन्धी तालिम दिइसकेकी छन् ।
ढाकासम्बन्धी सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यसमा लागेको उनी बताउँछिन् ।
‘तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्,’उनले भनिन्,‘कसैले पनि खाली हात बस्नुपरेको छैन ।’ बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार ढाकाका कपडा बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन नै गर्नुपरेको उनी बताउँछिन् ।
उनले घरकै छतमा बाँसको घेरबार हालेर त्यहीँ ढाकासम्बन्धी उद्योग चलाउँदै आएकी छन् । ‘वार्षिक चार लाखभन्दा बढी मुनाफा हुन्छ,’ उनले भनिन्, ‘तीनजना बहिनीलाई काम पनि दिएको छु, यो काम आफ्नो फुर्सदको समयमा गर्ने हो ।’
घरको अन्य काम सकेर जतिबेला मन लाग्छ उतिबेला गर्न मिल्ने खालको भएकाले आफू एकदमै सन्तुष्ट रहेको उनले बताइन् । उनले भनिन्, ‘साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर गएर जिन्दगी रमाइलोसँग विताएर यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो ।’
उनको एपिएस ढाका ट्रेनिङ सेन्टरमा ढाकाको दौरा सुरुवाल, सारी, टोपी, चोली, पछ्यौरी, हाफसल, कोट, गलबन्दी, खाँडीका कपडा तान लगाउनका साथै ढाकासम्बन्धी उद्यम गर्ने मानिसलाई तालिमका साथ कामसमेत दिने गरेको प्यारीमाया बताउँछिन् ।
ढाका उद्यमको सुरुआत
विसं २०६१ तिर झापाको दमकमा सञ्चालित सानो उद्योगमा ढाकासम्बन्धी तालिम लिएकी प्यारीमायाले त्यहीबाट पाँच हजारमा तान किनेर ल्याई आफ्नै घरमा ढाकाको काम सुरु गरेकी हुन् ।
‘सुरु समयमा गाउँकै दिदी नाता पर्नेलाई व्यवसायमा साझेदारी गरी बुद्धशान्तिमा उद्यम सुरु हुन्छ । दुवैजना मिलेर विस्तारै व्यावसाय पनि बढाउँदै लगेर चार वर्षएसम्म साझेदारीमा काम गरेँ । पाँच हजारको एउटा तान किनेर सुरु भएको उद्यमबाट कमाएको रकमबाहेक लगानीका लागि अन्य स्रोत खोज्नु परेन । त्यहीबाट भएको आम्दानीले अन्य स्रोतहरु जोड्दै गयौं,’ प्यारीमायाले भनिन् ।
चार वर्षमा खर्च कटाएर दुवैजनालाई दुई लाख र चारवटा तान भागमा पर्यो । आफ्नो भागमा परेको चारमध्ये तीनवटा तान बिक्री गरी एउटा घरमै छाडी करिब दुई वर्ष अनमी पढाइका लागि काठमाडौं गएको प्यारीमाया बताउँछिन् ।
उनका अनुसार अनमी पढ्ने बेलामा लागेको सबै खर्च आफैंले ढाकाको काम गर्दा बचत भएको पैसाबाट पूर्ति भयो ।
अनमीको पढाइपश्चात झापा फर्किएपछि सुवासचन्द्र राईसँग बिहे भयो ।
बिहेपश्चात कन्काई अस्पतालमा प्यारीमायाले जागिर सुरु गरिन् । तर त्यसबाट सन्तुष्ट हुन नसकिएको उनी बताउँछिन् । ‘बिहानदेखि सँझसम्म काम गर्यो, आवतजावत गर्न बसभाडा अनि खाजा खर्च कटाउँदा महिनामा एक-दुई हजारमात्र बचत हुनथाल्यो । घरबाट पनि कस्तो जागिर गरेको भनेर दबाब आउन थाल्यो, आफूलाई पनि चित्त नबुझेपछि पुनः आफ्नो पुरानै पेशामा फर्र्किनुपरेको हो’, प्यारीमायाले भनिन् ।
आफैंले घरमा राखेको एउटा तानबाट फेरि काम सुरु गरेकी प्यारीमायाले घरेलु, स्थानीय पालिकाअन्तर्गत लघुउद्यममा ढाकासम्बन्धी थप तालिम लिने र दिने अवसर जुट्दै गएको बताइन् ।
विसं २०७३ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नै गराएर काम सुरु गरेँ । यो काममा मेरा श्रीमान्को पूर्ण सहयोग प्राप्त भएको प्यारीमायाको भनाइ छ ।
उद्योगमा दर्ता भएपछि घरेलु तथा गाउँपालिकाले तानहरू अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको प्यारीमाया बताउँछिन् ।
घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने भन्दै प्यारीमाया प्रश्न गर्५िन् ।
आफूले तालिम दिएका सबै दिदीबहिनीले आफूले जस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउँछिन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,443)
जीवन विकासले बोलायो साधारणसभा (2,411)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,223)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)