मनसुनजन्य विपद : राज्यकाे ध्यान बाढी पहिराे नियन्त्रण, चट्याङले लिदैछ ज्यान

दश वर्षमा कोशीमा ८३० चट्याङ, ३३९ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मनसुनजन्य विपदबाट नागरिक जोगाउन राज्यले ठूलो लगानी गर्छ । राज्यले गर्ने लगानी बाढी पहिरोमा केन्द्रीत छ । तर मानवीय क्षति भने बाढी पहिरोले भन्दा धेरै चट्याङका कारण भइरहेको तथ्याङ्कले देखाउँछ । चट्याङकाे जाेखिम कम गर्न राज्यले ध्यान दिएकाे छैन ।

राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अभिलेख अनुसार २०७१ देखि २०८० चैतसम्ममा १० वर्षको अवधिमा कोशीमा चट्याङका ८३० वटा घटनामा परेर ३३९ जना व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका अधिकांश किसान हुन् । दश वर्षको सोही अवधिमा पहिरोका ७१० घटना भएका छन् । जसमा २२६ जनाको मृत्यु भएको छ । ४४ जना बेपत्ता छन् । सोही अवधिमा बाढीले बगाएर १५८ को ज्यान गएको छ । १०४ जना बेपत्ता पारेको छ ।

वि‍.स‍‍. २०७१ देखि असार २०८१ सम्म देशभर ३१४५ वटा चट्याङका घटनामा परेर एक हजार २१६ जनाले ज्यान गुमाएका छन् । ती घटनाहरुमा ३ हजार १४५ जना घाइते बनेका छन् । पछिल्लो एक दशकमा चट्याङबाट सबैभन्दा धेरै मकवानपुरमा १७ जनाले ज्यान गुमाउँदा झापामा १६ जनाको मृत्यु भएको छ।

कोशी प्रदेश सरकारका विपद विज्ञ रामकुमार दाहालका अनुसार कोशी प्रदेशमा बाढी–पहिरोले भन्दा बढी चट्याङले मानिसको ज्यान लिइरहेको छ । मनसुनजन्य विपदबाट नागरिक जोगाउन सरकारी तहबाट भएकाे लगानी बाढी र पहिरोमा केन्द्रित रहेकाे बताउँदै उनले मानवीय क्षति चट्याङबाट भइरहेको बताए ।

राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार नेपाल विश्वकै धेरै चट्याङ पर्ने ठाउँमध्ये प्रमुख पाँच क्षेत्रमा पर्छ । दक्षिण अमेरिकाको माथिल्लो भेगमा संसारमै सबभन्दा धेरै चट्याङ पर्छ । दोस्रो धेरै अफ्रिकामा र तेस्रो हिमालयको फेदीमा धेरै पर्छ । नेपाल तेस्राे स्थानमा पर्ने उनकाे भनाई छ ।

चालु आर्थिक वर्षको साउनदेखि असार २० गतेसम्म कोशीका नौ जिल्लामा १४ जनाको चट्याङका कारण मृत्यु भएको प्रहरीकाे तथ्याङ्क छ । झापामा मात्रै ३ जनाकाे मृत्यु भएकाे छ । इलाम, उदयपुर र ओखलढुंगामा २–२ जनाको मृत्यु भएको छ। पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी र संखुवासभामा १–१ जनाको मृत्यु भइसकेको छ। यी घटनामा २४ जना घाइते छन् । 

जोगिने कसरी ?

चट्याङ भनेको आकाशबाट जमिनमा खस्ने एक शक्तिशाली विद्युतीय करेन्ट हो । चट्याङबाट जोगिने सबभन्दा राम्रो उपाय भनेको सुरक्षित ठाउँमा बस्नु हो ।

विपद न्यूनीकरण प्राधिकरणले चट्याङबाट जोगिन घरभित्रै बस्न आग्रह गरेको छ । विपद विज्ञ रामकुमार दाहालका अनुसार माटोले बनेका होचा घरमा बस्नेहरू चट्याङको जोखिममा हुन्छन् ।

सामान्यतया पक्की घर सबभन्दा सुरक्षित मानिन्छ । घरमा पनि विद्युत प्रवाह नहुने स्थानमा बस्नुपर्छ ।

कम्प्युटर, टिभी, आइरन, मोटर, ल्यान्डलाइन फोन वा मोबाइल जस्ता विद्युतीय उपकरण चलाउन हुँदैन । यी उपकरण विद्युतको प्लगबाट झिकेर राख्नुपर्छ । सोझै धाराको पानी चलाउने, कपडा धुने, भाँडा माझ्ने कामले पनि जोखिम हुन्छ ।

घर बाहिर हुँदा चट्याङको झन जोखिम हुन्छ । चट्याङ परिरहँदा रूख वा ठूलो टावरको मुनि बस्न हुँदैन । खुला ठाउँमा हातले दुवै कान थुनेर टाउको माथि हात पारेर, कुर्कुच्चा जोडेर जमिनमा टुक्रुक्क बस्दा जोखिम कम हुन्छ । चट्याङ परिरहेका बेला खेतबारीमा काम गर्दा जाेखिम हुने भएकाले खेतबारीमा नजान प्राधिकरणको आग्रह छ ।

प्रकाशित मिति: बुधबार, २६ असार, २०८१
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.